कविताः “किशन धामी बहुला हो”
कविताः “किशन धामी बहुला हो”
न थम्थम्याएर हुन्छ
न हात जोडेर हुन्छ
न रोकेर हुन्छ
न छेकेर हुन्छ
लागे पछि लाग्यो लाग्यो
गर्छु भनेपछि हिड्यो हिड्यो
लागे पछि फत्ते नै गर्छ
हिडे पछि पुगिकनै छाड्छ
सब मान्छे हेऱ्याहेऱ्यै हुन्छ- ट्वा परेर
म भन्दैछु – एउटा कर्मयोगीको कुरा
म भन्दैछु – एउटा बहुलाको कुरा
म भन्दैछु – किशन धामीको कुरा
हो, एउटा कर्मयोगी बहुला कवि किशन धामीको कुरा
नेपाली भाषा, साहित्य र संस्कृति भनेपछि
हुरुक्क भएर हिड्छ
खुरुक्क संग हिड्छ
काम फत्ते नहुन्जेल हिडेकोहिड्यै गर्छ
उमेर, शरिर; र स्वास्थ्यले कहिलेकाही त आराम गर भन्छ
उ भने निहुँ खोज्दै हिड्याहिड्यै गर्छ
सृजनशील कर्ममा मरिहत्ते गरेर
त्यसैले म भन्छु- कवि किशन धामी बहुला हो
देवकोटा जस्तो बहुला
डा. गोविन्द केसी जस्तो बहुला
आफ्नो भन्दा समाज र देशको चिन्ता गर्ने बहुला
सधै-सधै यो धर्तिमा जन्मिरहोस् जस्तो लाग्ने
सधै-सधै यो धरामा बाँचिरहोस् जस्तो लाग्ने
आँखामा राख्दा नि नबिझाउने
एउटा बहुला सपुत
एउटा बहुला कवि
हो, कवि किशन धामी बहुला हो ।
(नोटःगत शनिवार न्यूयोर्कमा म यही कविता वाचन गर्दै थिएँ)
कवि ज्याेति कुमार श्रेष्ठ
Comments: