तारा-किशन फाउण्डेशन द्वारा न्युयोर्कमा ९ संचारकर्मी सम्मानित
न्युयोर्क । प्रवासमा रहेर नेपाली भाषाको जगेर्ना र सम्बर्द्धन हुनेगरी क्रियाशील रहेका अमेरिकाका नौ जना प्रधानसम्पादक तथा संचारकर्मीहरुलाई तारा-किशन फाउण्डेशनले न्यूयोर्कमा एक कार्यक्रमको आयोजना गरी सम्मान गरेका छन् ।
गत अगस्त २६ शनिबारको दिन न्युयोर्कको क्विन्स स्थित सत्य नारायण मन्दिरको हलमा फाउण्डेशन द्वारा संचारकर्म मार्फत प्रवासमा नेपाली भाषा, कला र संस्कृतीको जगेर्नाको साथै यस्को प्रबर्धनको निमित्त अमुल्य योगदान पुर्याएका संचारकर्मी द्वय प्रदीप परियार थापा मगर, किशोर पन्थी,किरण मरहठ्ठा, गोविन्द गिरी ‘प्रेरणा’,ज्योतिकुमार श्रेष्ठ, योगेश डंगोल ‘आदी’, विष्णु पौडेल, अकुर लुईटेल र पछिल्लो पुस्ताका न्युयोर्कका चर्चित कार्यक्रम प्रस्तोता “होस्ट”, म्युजिक भिडियो निर्देशक, कलाकार तथा ५ बर्ष देखि निरन्तर न्युयोर्कमा संचारकर्ममा समय खर्चेका मकै हाउस मिडिया “टिभी एण्ड न्युज”का संस्थापक खडग बहादुर पुलामी “बिक्की पुलामी” सम्मानित भएका हुन् ।
कार्यक्रममा सुदूर पश्चिममा प्रचलित गीत देउडाका लोकप्रिय गायक शंकर विष्ट र गायिका चाँदनी मल्ललाई पनि बिशेष सम्मान गरिएको थियो ।
कार्यक्रमको शुभारम्भ न्यूयोर्क स्थित नेपाली भाषा कक्षाका विधार्थीहरुले नेपाली राष्ट्रगान र अमेरिकी राष्ट्रगान गाएर गरिएको थियो ।
नेपाली महावाणिज्यदूत विष्णु प्रसाद गौत्तमको प्रमुख आतिथ्यता र तारा-किशन फाउण्डेशनका संस्थापक अध्यक्ष तारा धामीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रम कवि शकुन ज्ञवालीले संचालन गर्नुभएको थियो ।
कार्यक्रममा फाउण्डेशनका संस्थापक एवं कवि किशनसिंह धामीले संचारकर्मीहरुलाई सम्मान गर्नुपर्ने बारे स्पष्टोक्ति दिदै बोल्नुभएको थियो ।
प्रवासमा यसरी संचारकर्मीहरुलाई उनीहरुको सत्कर्मको कदर गर्दै सम्मान गरिएको सम्भवतः यो पहिलो कार्यक्रम हो ।
अमेरिका भरिका सबै प्रधानसम्पादक संचारकर्मीहरुलाई सम्मान ग्रहणको लागि निमन्त्रणा अनुरोध गरिएकोमा कारणवश नौ जना मात्र समारोहमा उपस्थित हुनु भएको हो ।
Comments: