किशनसिंहका कविता

Kishan Dhami

किशनसिंहका कविता

काठमाडौँ — कवि/लेखक किशनसिंह धामी कविता संग्रहसहित आएका छन् । ‘एटलान्टिकका भँगालाहरू’ राजधानीमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती र पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द लोकार्पण गरे ।

वरिष्ठ साहित्यकार चन्दले धामीलाई आफूले सानैदेखि लेखनप्रति उत्सुक भेटेको उल्लेख गर्दै भने, ‘दृढनिश्चयी र संघर्षशील उहाँले साहित्यका सबैजसो विधामा कलम चलाउनुभएको छ । उहाँका कृतिमा निश्छलता पाइन्छ, देखेको कुरा सोझै लेख्नुहुन्छ ।’ कुनै पनि सिर्जनाका लागि साहित्यकार एकलव्य भएर लाग्नुपर्ने र त्यस्तो परिश्रमबाटै नेपाली समाजलाई असल मार्गमा डोर्‍याउने साहित्य सिर्जना हुने उनले बताए ।

उपन्यास, अनुवाद, संस्मरण विधामा पनि कलम चलाउँदै आएका धामीका आधा दर्जन कृति प्रकाशित छन् । उक्त कविता संग्रहमा दुइटा लामा कविता छन् । ‘एटलान्टिकका भँगालाहरू’ तथा ‘महाकाली गाड’ शीर्षक ती कवितामा अमेरिकाको एटलान्टा वरपरको परिवेश र उनी जन्मेको भूमि दार्चुला हुँदै बग्ने महाकाली नदीको सेरोफेरोको सन्दर्भ छन् ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) नेपालद्वारा आयोजित कार्यक्रममा कुलपति उप्रेतीले बहुविधामा हात हाल्ने कवि धामीको पछिल्लो कृति पठनीय रहेको बताए । धामीमा आफूवरिपरिको परिवेश अनुभव र वर्णन गर्ने क्षमता पाएको उनले सुनाए ।

धामीले आफूले देखेभोगेको समाजलाई लेखनमार्फत बाहिर ल्याउने आफ्नो प्रयास रहँदै आएको उनले बताए । भने, ‘अग्रजहरूको प्रेरणा र हौसलाले म यहाँसम्म आइपुगेको हुँ ।’

कार्यक्रममा अनेसास नेपालका अध्यक्ष राधेश्याम लेकाली, वरिष्ठ कथाकार माया ठकुरी, कवि यादव भट्टराई, समीक्षक दीपक फुँयाललगायतको पनि उपस्थिति थियो ।

Original Source : ekantiur


Comments: