न्यूयोर्कमा तीज तथा दर खाने विशेष कार्यक्रम सम्पन्न

न्यूयोर्कमा तीज तथा दर खाने विशेष कार्यक्रम सम्पन्न

न्यूयोर्क (अमेरिका)– नेपाल सरकारका महावाणिज्यदूत दधिराम भण्डारीको प्रमुख आतिथ्यमा तारा–किशन फाउण्डेशनद्वारा आयोजित “हरितालिका तीज तथा दर खाने विशेष कार्यक्रम” आइतवार, अगस्ट २४, २०२५ मा न्यूयोर्कस्थित सत्यनारायण मन्दिरमा भव्य रूपमा सम्पन्न भएको छ ।

साँझ ६ बजेदेखि राति ११ बजेसम्म चलेको कार्यक्रममा सयौँको संख्यामा नेपाली दिदीबहिनी तथा दाजुभाइहरूको उपस्थिति थियो । उपस्थितले नेपाली संस्कृतिको मौलिकता प्रत्यक्ष अनुभव गर्ने अवसर पाए ।

कार्यक्रममा तीज पर्वको ऐतिहासिक र सांस्कृतिक महत्वबारे मन्तव्य प्रस्तुत गरियो। त्यसैगरी, विभिन्न कलाकारहरूले तीजगीत र सांगीतिक प्रस्तुति दिएका थिए भने महिला समूहहरूले परम्परागत पोशाकमा नाच–गान प्रस्तुत गर्दा हल उत्साहपूर्ण वातावरणले भरिएको थियो। सहभागी महिलाहरू समूहगत तीजगीतमा रमाएका देखिन्थे भने पुरुषहरूले समेत उत्साहपूर्वक साथ दिएका थिए। दर खाने परम्परागत चलनलाई पुनःजीवित गर्ने उद्देश्यले स्वादिष्ट नेपाली परिकार राखिएको थियो, जसले सबैलाई आ–आफ्नो मातृभूमि सम्झन बाध्य बनायो ।

यस अवसरमा महावाणिज्यदूत दधिराम भण्डारीलाई फाउण्डेशनतर्फबाट विशेष अभिनन्दन गरिएको थियो । भण्डारीले आफ्नो मन्तव्यमा अमेरिकामा रहेका नेपालीहरूको एकता, संस्कृतिप्रतिको लगाव र समुदायप्रतिको योगदानले नेपाललाई गौरवान्वित बनाइरहेको बताए ।

फाउण्डेशनका अध्यक्ष तारा धामीले सभ्य, भव्य र मौलिक तरिकाले कार्यक्रम सम्पन्न भएको भन्दै सबै न्यूयोर्कवासी नेपाली समुदायलाई धन्यवाद व्यक्त गरे। उनले भने, “तारा–किशन फाउण्डेशनले नेपाली कला, संस्कृति र परम्परालाई विश्वसामु चिनाउने कामलाई निरन्तर अघि बढाउनेछ। हाम्रो उद्देश्य समुदायबीचको एकता, संस्कृतिको संरक्षण र आपसी सद्भावलाई मजबुत बनाउनु हो ।”

गत वर्ष पनि फाउण्डेशनले यस्तै कार्यक्रम आयोजना गरेको थियो, जसमा ठूलो संख्यामा सहभागिता भएको थियो। यस वर्षको कार्यक्रममा सहभागीलाई सानो उपहार वितरण गर्ने परम्परा जोडिएपछि कार्यक्रम अझ आकर्षक बनेको सहभागीहरूले बताएका छन् ।

साँस्कृतिक प्रस्तुति, दर खाने चलन, नेपाली परिकारको स्वाद र सहभागिताबीचको आत्मीयताले गर्दा यो कार्यक्रम केवल मनोरञ्जन मात्र नभई संस्कृतिको संरक्षण र समुदायबीचको आपसी सम्बन्ध मजबुत पार्ने माध्यम बनेको सहभागीहरूको धारणा रहेको छ ।


Comments: