कवि धामीको ‘एटलान्टिक’ एमेजनबाट प्रकाशित
![]()
काठमाडौँ — दार्चुलामा जन्मे-हुर्केका कवि किसनसिंह धामीको अंग्रेजी कविता संग्रह ‘एटलान्टिक’ अमेरिकी प्रकाशन गृह एमेजनबाट प्रकाशित भएको छ । कवि धामीको कृतिको हालै काठमाडौंमा विमोचन भएको छ ।
एक दशकयता अमेरिका बस्दै आएका कवि धामीको यसअघि प्रकाशित ‘एटलान्टिकका भागालाहरू’को अंग्रेजी अनुवाद ‘एटलान्टिक’ एमेजनबाट आएको हो । भौतिक विकासको चरमोत्कर्षमा पुगेको अमेरिकाको बासिन्दा भएर दार्चुलाको सामाजिक-सांस्कृतिक र आर्थिक चित्रचरित्र उधिन्दै धामीले लेखेको लामा कविताको संकलनलाई प्राध्यापक राजन थपलियाले अंग्रेजीमा अनुवाद गरेका हुन् ।
‘नेपाली कवि र कविताको अंग्रेजी अनुवाद एमेजनबाट प्रकाशनमा आउनु सुखद् कुरा हो,’ कृतिको विमोचन गर्दै साहित्यकार ध्रुबचन्द्र गौतमले भने‚ ‘धामीका कवितामा दुई भूगोलबीचको अन्तर र जीवनजगतका सूक्ष्म लाग्ने आप्रवासी चेतनाका विषय समेटिएका छन् ।’
विमोचनमा सहभागी दार्चुला साहित्य महोत्सवका सहसंयोजक एवं देउडा गीतकार राजेन्द्र भट्टले ‘महाकाली सेरोफेरोमा बाल्यकाल बिताएका कवि धामीले आज एटलान्टा भागालाको अनुभूतिलाई उतारेर पूर्वीय र पश्चिमा चिन्तन-चेतनालाई एउटै कृतिमा समेटेको’ धारणा राखेका थिए । अंग्रेजी साहित्यका अध्येता अनील प्रधानले ‘एटलान्टिक’को सहज र सुललित अंग्रेजी भाषाको प्रयोग भएको टिप्पणी गरेका थिए ।
हाल अमेरिकाको इन्डियानास्थित ट्रिने युनिभर्सिटीमा प्राध्यापनरत थपलियाले अनुवाद गरेको कविताको अंग्रेजीका प्राध्यापक तथा सम्पादक निस्बत शा र जेम्स क्रिस्टोफरले सम्पादन गरेका छन् । नेपाली सांस्कृतिक र साहित्यिक सम्पदालाई समेत तुलनात्मक अर्थमा बाहिरी जगतमा चिनारी गराउने अर्थमा आफूले ‘एटलान्टिकका भागालाहरू’ लेखेको कवि धामीले बताए ।
यसअघि धामीका ‘अन्धकारको अनुसन्धान’, ‘शान्ति खोज्दै’, ‘गजबार नभएको सहर’ जस्ता कृति र ‘कलेज गर्ललाई इमेल’ (उपन्यास), ‘फ्रन्ट सिट’ (संस्मरण) प्रकाशित छन् ।
Comments: